
महोत्तरी — देशका अन्य भागको तुलनमा मधेसको चुनौती बनेको बालविवाह र दहेजजस्ता सामाजिक विकृति अन्त्य गर्न सरोकारवालाहरुले सामूहिक रूपमा प्रतिबद्धता जनाएका छन्।
बर्दिबासमा बिहीबार सम्पन्न ‘बालविवाह अन्त्यका लागि धार्मिक गुरुहरुको भूमिका’ विषयमा भएको छलफलका सहभागीले आआफ्ना ठाउँमा बाल विवाहलाई हुन नदिन नेतृत्वदायी भूमिका निर्वाह गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।
‘हामी आफ्नो प्रयत्नबाट बालविवाह र दहेजजस्ता सामाजिक कुरीति अन्त्य गर्न सामूहिक प्रतिबद्धता व्यक्त गर्दछौं,’ प्रतिबद्धतापत्रमा भनिएको छ।
२०७८ को राष्ट्रिय जनगणनाले मधेसमा उमेर नपुगी विवाह गर्ने ७५ प्रतिशतभन्दा बढी देखाएको छ। राष्ट्रिय जनगणनामा प्रस्तुत तथ्याङ्कअनुसार १८ वर्षदेखि २० वर्ष पूरा हुनुअघि विवाह गर्ने ३९ दशमलव पाँच प्रतिशत छन् ।
यसमा ४२ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला छन् । यसैगरी १५ देखि १७ वर्ष उमेर समूहका २७ दशमलव सात प्रतिशत, १० देखि १४ उमेर समूहका नौ दशमलव तीन प्रतिशत र १० वर्ष मुनिका शून्य दशमलव दुई प्रतिशत छन् ।













