News Griha :: न्यूजगृह
हत्या आरोपमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा 

काठमाडौं — हत्या अभियोगमा पक्राउ परेका सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खामको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।

बिहीबार जिल्ला अदालत चितवनमा उपस्थित गराइएका खामको न्यायाधीश दयाराम ढकालको इजलासमा बयान लिइएको हो।

माओवादीका राष्ट्रिय सुरक्षा विभाग सदस्य रहेका खाममाथि २०६५ वैशाखमा व्यवसायी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप छ।

वैशाख १५ गते राति श्रेष्ठलाई काठमाडौंबाट अपहरण गरी चितवन पुर्‍याएर वैशाख २८ गते हत्या गरेको आरोप छ।

उक्त आरोपमा मंगलबार काठमाडौंबाट उनी पक्राउ परेका थिए। 

बिहीबार उनको बयान लिएपछि थुनछेक बहस भएको थियो। प्रतिवादी खामको तर्फबाट दुई जनाले बहस गर्दा पीडित पक्षका तर्फबाट तीन जनाले बहस गरेका थिए।
  

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १९:२९
Weather Update