
काठमाडौं — आफूभन्दा २६ वर्ष कान्छी युवतीसँग बिहे गरेका चर्चित गायक राजेश पायल राईले अन्ततः सम्बन्धविच्छेद गरेका छन्। राजेशपायल र खोटाङ घर भएकी साङबुङ राईले २०७९ मंसिर २६ गते विवाह दर्ता गरेका थिए।
राजेशपायलले श्रीमती साङ्बुङसँग गत चैत १५ गते आपसी सहमतिमै काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद गरेका हुन्। दुवै जनाले आपसी सहमतिमा न्यायाधीश पदमप्रसाद पाण्डेको इजलसमा सम्बन्धविच्छेद गरेका हुन्।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सीपी पन्थीले बताएअनुसार दुईजनाबीच आपसी सहमतिमै छुट्टिने निर्णय भएको हो। सम्बन्धविच्छेदका क्रममा गायक राजेशपायलले साङबुङलाई नक्सालमा तीनआना जग्गामा बनेको करिब ५ करोड मूल्यको घर दिएका छन्।
त्यसैगरी सम्बन्धविच्छेदका क्रममा उनले साङबुङलाई ५० लाख रुपैयाँ नगद पनि दिने सहमति अदालतमै गरेका छन्। राजेशपायलले आफू र साङबुङको सम्बन्धबाट जन्मिएको छोरालाई १८ वर्षको उमेर नहुन्जेलसम्मलाई मासिक १५ हजार रुपैयाँ दिने भएका छन्। आफ्नो वैवाहिक जीवन गोप्य राखेका राजेशपायलले नै साङबुङसँग सम्बन्धविच्छेदको मुद्दा हालेका थिए।
केही वर्षदेखि राजेशपायल र साङबुङ लिभ इन टुगेदरमा बस्दै आएका थिए। राजेशले साङबुङसँगको सम्बन्धबारे खुलाएका थिएनन्। उनले आफूलाई सञ्चारमाध्यममा अविवाहित पुरुषका रुपमा चिनाउँथे।
तर साङबुङले नै राजेशपायलसँग आफ्नो बिहे भएको र आफूहरूको सम्बन्धबाट एकजना छोराको पनि जन्म भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी थिइन्।
तर, गतवर्ष उनीहरूको बिहे दर्ता नै बाहिरिएपछि उनले बिहेको पुष्टि भएको थियो।
राजेशपायल मादक पदार्थ सेवन गरेर हो हल्ला गरेको आरोपमा गएराति पक्राउ परेका थिए। उनी बिहीबार बिहान रिहा भएका हुन्।













