लुम्बिनीका मुख्यमन्त्री चौधरीले दिए राजीनामा

बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन्। उनले राजनीतिक फेरबदलकै कारण राजीनामाको निर्णय लिएको बताएका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेपछि उनी अल्पमतमा परेका थिए।
बहुमत जुटाएर विश्वासको मत लिने प्रयास गरेका चौधरीले बहुमत नजुट्ने देखिएपछि अन्तिम समयमा प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै बिहीबार राजीनामा दिएका हुन् ।
सम्बोधनका क्रममा उनले संघीय संरचनाअनुसार प्रदेश सरकार फेरबदल हुने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेका छन्। हरेक नयाँ सरकार बन्दाको दिनदेखि नै त्यो सरकारको दिनगन्ती सुरु हुने गरेको भन्दै प्रदेश आफैमा सबल र स्रोत सम्पन्न नभएसम्म संघीयता दिगो र प्रभावकारी हुन नसक्ने बताए।
औचित्य पुष्टि गर्न नसक्दासम्म प्रदेशको विकास हुन नसक्ने उनको दाबी थियो ।
प्रकाशित मिति: बिहीबार, चैत २२, २०८० १७:०८