News Griha :: न्यूजगृह
ढोरपाटनमा शिकारीले यसरी गरिरहेका छन् नाउर र झारलको शिकार

बागलुङ — नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा अहिले विदेशी शिकारी शिकार खेल्न व्यस्त छन्। दोस्रो शिकार याममा ढोरपाटन आरक्ष क्षेत्रमा धमाधम शिकार भइरहेको छ। यस याममा ११ नाउर, सात झारल र चार बँदेलको शिकार हुँदैछ।

यस वर्षको दोस्रो शिकार याम सुरु भएसँगै केही विदेशी शिकारी शिकार खेलेर फर्केका छन्। केही शिकारी आरक्षभित्र शिकार खेल्न व्यस्त छन् भने केही शिकारी आउने क्रममा छन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वैशाखका लागि ११ नाउर र सात झारलको शिकार गर्न अनुमति दिएको थियो। ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडलेले यस वर्षको दोस्रो शिकार याममा ११ नाउर र सात झारलको शिकार अनुमति दिएकामा केही शिकार भइसकेको बताए।

आरक्षले दोस्रो याममा चार बँदेलको शिकारका लागिसमेत अनुमति दिएको छ। कँडेलका अनुसार अनुमति पाएका शिकारीले नाउर, झारल र बँदेल गत फागुन १८ गतेदेखि वैशाखको दोस्रो सातासम्म शिकार गर्न आरक्ष खुला गरिएको हो। शिकारका लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक शिकारी ढोरपाटन आरक्षमा आउनेजाने क्रम चलिरहेको छ। 

त्यसमध्ये केही विदेशी शिकारी शिकार खेलेर फर्केका छन् भने केही शिकारी आरक्षतर्फ आएका छन्। अन्य शिकारी आउने तयारीमा रहेको कँडेलले बताए। ‘यस वर्ष आरक्षमा सूचीकृत कम्पनीमध्ये पाँच कम्पनीमार्फत अमेरिका, रसिया, स्पेन, उज्बेकिस्तान, मेक्सिको र बुल्गेरियाका शिकारीले शिकार खेल्न अनुमति पाएका थिए,’ कँडेलले भने।

यस वर्ष प्रतिस्पर्धामा स्पेनका तीन, अमेरिकाका दुई, बुल्गेरियाका दुई, रसियाका दुई, मेक्सिकोका एक र  उज्बेकिस्तानका एक शिकारी शिकारका लागि छनोट भएका थिए। उनीहरूले बन्दोबस्तीका सामग्री फागुन १८ गतेपछि शिकार आरक्षमा वैधानिकरूपमा आफूले प्राप्त गरेको कोटाका आधारमा शिकार खेल्न सक्नेछन्। 

शिकार खेल्न नेपाली सहयोगीसहित आरक्षका कर्मचारीसमेत विदेशी शिकारीको साथमा खटिने गर्दछन्। शिकारीका लागि आवश्यक बन्दोबस्ती र मार्गनिर्देशनका लागि ढोरपाटन शिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी तथा शिकारीका भरिया सम्बन्धित ब्लकमा पठाइएको छ। 

विभागले हरेक वर्ष नाउर र झारलका लागि कोटा निर्धारण गर्ने गरेको हुन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार याम असोज–मङ्सिरका लागि आठ नाउर, चार झारल र आठ बँदेलको शिकार खेल्न अनुमति दिएको थियो । विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य शिकारीबीच प्रतिस्पर्धा गराएर शिकार खेल्न अनुमति दिने गरेको छ। 

बोलपत्रमार्फत एउटै नाउर शिकार खेल्न शिकारीले आठ लाखदेखि १८–२० लाख रुपैयाँसम्म तिर्ने गरेकोसमेत तथ्याङ्क छ। शिकारका लागि आरक्षको क्षेत्रलाई सेङ्ग, बार्से, दोगाडी, घुस्तुङ, सुर्तिवाङ, सुनदह र फागुने सात ब्लकमा विभाजन गरिएको छ।  ढोरपाटन क्षेत्रमा बर्सेनि (असोज–मङ्सिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको छ।  

खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’मा शिकार खेल्न रुचि राख्ने गरेको शिकार आरक्ष कार्यालयले जनाएको छ। यसपटकको सबैभन्दा बढी शिकार घुस्तुङ, दोगाडी र सेङ्ग ब्लकमा हुनेछन्। विदेशी शिकारीसहितको समूहले १५ दिनभित्र शिकार खेलिसक्नुपर्ने हुन्छ। जङ्गलमै बास बिताउने शिकारीले आरक्ष प्रवेश गरेको १५ दिनभित्र शिकार खेल्न नसके रित्तो हात फर्कनुपर्ने नियम छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजस्व दर निर्धारण गर्छ। साहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ। 

नाउर, झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक शिकारीले करिब रु २० देखि ३० लाखसम्म खर्च गर्ने गरेको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ।

विसं २०४४ मा स्थापना भएको शिकार आरक्ष पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको भए पनि आरक्षको मुख्य कार्यालय भने बागलुङको ढोरपाटन उपत्यकामा पर्छ। शिकार आरक्षको सुरक्षाका लागि २०७३ सालदेखि नेपाली सेनाको गुल्म बस्दै आएको छ। सेनाले आरक्षको सुरक्षा दिन थालेपछि चोरी शिकारीमा कमी आएको छ। 

आरक्षमा यसपटक नेपाल वाइल्डलाइफ एडेभेन्चर, हिमालय सफारिज, ग्लोबल सफारिज, नेपाल ट्राभल एक्पेडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिजमार्फत शिकारीले शिकार खेल्न अनुमति पाएका हुन्।

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १७:२९
Weather Update