News Griha :: न्यूजगृह
विश्वासको मत नपाउने पक्कापक्कीपछि राजीनामा दिँदै लुम्बिनीका मुख्यमन्त्री, माओवादीका महराले जुटाए ४४ सांसदको हस्ताक्षर

दाङ — लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन्। नयाँ गठबन्धनबाट मुख्यमन्त्री बन्न लागेका माओवादी संसदीय दलका नेता जोखबहादुर महराले बहुमत सदस्यको समर्थन जुटाएपछि मुख्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्।

उनले बिहीबार दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा आफ्ना भनाइ राखेर त्यहीँबाटै राजीनामा घोषणा गर्ने उनीनिकट स्रोतले बताएको छ।

नेकपा माओवादी संसदीय दलका नेता महरालाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै एमालेका २९, माओवादी केन्द्रका १०, जसपा नेपालका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ गरी ४४ जनाले हस्ताक्षर गरिसकेका छन्। नागरिक उन्मुक्तिले पनि समर्थन गर्ने जानकारी दिइसकेको तर, हस्ताक्षर प्रक्रिया अझै सहभागी नभएको माओवादी केन्द्रका लुम्बिनीका प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए।

मुख्यमन्त्री चौधरीले राजीनामाको विषयमा निर्णय लिन प्रदेश सभा बैठकअघि संसदीय दलको बैठक बोलाएका छन्। बैठक अघि नै उनले राजीनामा दिने गरी तयारी गरेको र संसदीय दलको बैठकमा पनि त्यही विषय राख्ने कांग्रेसका एक प्रदेश सभा सदस्यले बताए।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए। अहिले कांग्रेसका २७, लोसपा र जनमतका ३र३ र जनमोर्चाका १ प्रदेश सभा सदस्यको मात्र समर्थन जुटाएका छन्। ३ प्रदेश सभा सदस्य रहेको राप्रपाले अहिलेसम्म कुनै निर्णय गरेको छैन।

त्यस्तै विवादका कारण अन्तिम निर्णय नगरेको ४ प्रदेश सभा सदस्य रहेको नागरिक उन्मुक्ति पनि अन्तिम समयमा नयाँ गठबन्धनतिरै लाग्ने भएकाले मुख्यमन्त्रीले प्रदेश सभा बैठकमा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका हुन्। कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले भने राजीनामा आउन सक्ने तर, त्यसको निर्णय संसदीय दलको बैठकपछि मात्र टुंगो लाग्ने बताए।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा राप्रपाका एक सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ मत आवश्यक पर्छ। लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३र३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र १/१  प्रदेश सभा सदस्य छन् ।   

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:५८
Weather Update