News Griha :: न्यूजगृह
विदेशमा रहेका नेपालीलाई कन्सुलर सेवा सहज, नयाँ ‘मोड्युल’को सेवा प्रारम्भ

काठमाडौं — बिहीबारबाट देश बाहिरका नागरिकले अनलाइनमार्फत कन्सुलर सेवा सहज रुपमा पाउने भएका छन्। परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको धारणा राखे।

विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत सहजै दर्ता गराउन सक्नेगरी कन्सुलर सेवा विभागले आजदेखि सुरु गरेको नयाँ ‘मोड्युल’को शुभारम्भ गर्दै उनले सरकार सार्वजनिक सेवा प्रवाहमा सहजता प्रदान गर्न प्रतिबद्धता अनुसार नै लागेको बताए।

‘हामीले आजदेखि सेवाको नयाँ मोडल प्रारम्भ गरेका छौं। देश भित्र यसअघि नै अनलाइनमार्फत कन्सुलर सेवा उपलब्ध गराउँदै आएकामा आजबाट देश भित्र र बाहिर पनि नियोगहरुमा कन्सुलर सेवा प्राप्त गर्नका निम्ति अनलाइनबाटै सेवा लिन सक्ने व्यवस्था गरेका छौ,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने।

नयाँ मोड्युलको सुरुवात पछि उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठले जनतासँग प्रत्यक्ष जोडिएका दैनिक कार्यलाई सरकारले सहज, सहज र त्रुटिरहित बनाउनका लागि गरेको प्रतिबद्धता अनुरूप नै कन्सुलर विभागका कामलाई सूचना प्रविधिको अधिकतम प्रयोग गरी सहज बनाउने क्रमलाई निरन्तरता दिएको भनाई उनको छ। 

‘सूचना प्रविधिको प्रयोग गरेर घरमै सरकारका सेवा छिटो, छरितो त्रुटिरहित रूपमा प्रदान गर्न हामीले यो सेवा प्रारम्भ गरेका हौँ’, उनले भने। नयाँ मोड्युल अनुसार विदेशमा भएका नागरिकले आफ्ना समस्या र गुनासो सिधै अनलाइनमार्फत विभागमा पठाउन सक्नेछ। नयाँ मोड्युलबाट गुनासा र समस्या दर्ता गर्न सेवाग्राहीलाई इमेल र पासवर्डको समेत आवश्यकता पर्दैन।

Narayan_Kaji_Shrestha-1712217716.jpg

नारायणकाजी श्रेष्ठ

विभागका अनुसार यो सेवा प्रारम्भ पछि विदेश बस्ने नेपाली नागरिकले घरमै बसेर आफ्नो समस्या र गुनासो व्यक्त गर्न पाउने र समाधानका सम्बन्धमा विभागबाट भएको सम्बोधनसमेत अनलाइनबाटै जानकारी लिनसक्ने छन्। 

विभागका महानिर्देशक प्रकाशमणि पौडेलले नयाँ ‘मोड्युल’को सेवाका बारेमा जानकारी दिँदै भने, ‘उक्त मोड्युलमा कुनै पनि सेवाग्राहीले राहदानी नम्बर र जन्ममिति प्रविष्ट गरेपछि नयाँ ‘फोल्डर’ निर्माण हुन्छ। फोल्डरमा आफ्ना समस्या र गुनासा लेख्न मिल्ने तथा सम्बोधनका बारेमा समेत जानकारी पाइने व्यवस्था गरिएको छ।’ 

महानिर्देशक पौडेलले विदेशमा रहेका दूतावासमा सीमित कर्मचारीबाट धेरै सेवाग्राहीका काम गर्न यो प्रविधिको सुरुआत गरिएको जानकारी गराए। गुनासो वा समस्या दर्ता गर्न चाहनेले सिधै आफ्नो जन्ममिति र राहदानी नम्बर हालेर आफ्नो भनाई घरबाटै राख्न सक्नेछन्। 

यी सेवाका लागि सेवाग्राही वा उनीहरूका आफन्त स्वयम् विभागमा आई आवेदन दिने तथा सो बारे कार्य प्रगतिको सोधपुछका लागि सरोकारवाला निकायमा धाउनुपर्ने बाध्यताको अनलाइनबाट आवेदन दिन सक्ने व्यवस्था गरेपछि सेवाग्राहीलाई सहज भएको थियो। यस्तो सेवाका लागि गरिएको सेवाग्राहीको आवेदन सम्बन्धित देशमा रहेका नेपाली नियोगमा पनि पुग्ने र यसबारेमा ती नियोग पनि सेवाप्रति जिम्मेवार हुनुपर्ने छ। 

देशभित्रै रहेका नागरिकलाई कानुनी सेवा उपलब्ध गराउने, प्रहरी चारित्रिक प्रमाणपत्र बनाउने, विभिन्न कागजात प्रमाणीकरण गराउने, विदेशमा हराएका नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि यसअघि नै अनलाइनबाटै आवेदन गर्न सकिने व्यवस्था गरेको विभागले उक्त सेवाको विदेशमा विस्तार गर्दै नयाँ ‘मोड्युल’ ल्याएको हो। साथै, मन्त्री श्रेष्ठले उनले वैदेशिक रोजगारीमा जाने नागरिकलाई सहज सेवा उपलब्ध गराउने गरी आफूहरूले काम गरिरहेको बताएका छन्।

अबको एकसाता भित्र वैदेशिक रोजगार विभाग, मेनपावर कम्पनी र राजदूतावासलाई सँगै ल्याएर वैदेशिक रोजगारीमा जानेले हाल भोग्दै आएको समस्या समाधानका लागि समन्वय गर्ने गरी सहज अनलाइन सेवा दिने तयारी आफूहरूले गरेको भनाई मन्त्री श्रेष्ठको छ।  

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १३:४७
Weather Update