
काठमाडौं — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले दोस्रो दिनको बैठकबाट पनि वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका उम्मेदवार छान्न सकेन।
बुधबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ गम्भीर छलफल भए पनि बिहीबार मात्रै निर्णय हुने जानकारी कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले दिए।
धेरैजना आकांक्षी भएका कारण बिहीबार बिहान संसदीय बोर्डको बैठकमा उनीहरूलाई राखेर छलफल पनि दिउँसो ३ बजे बस्ने कार्य सम्पादन समितिको बैठकले निर्णय लिने उनले बताए।
‘आज पनि निर्णय हुन सकेन। आजको बैठकले इलाम २ र बझाङ प्रदेश सभाका निर्वाचनका सबै आकांक्षीहरूलाई राखेर भोलि छलफल गर्ने, त्यसपछि सहमति जुटाउने कुरा भएको छ,’ विश्वकर्माले भने, ‘भोलि बिहान साढे ९ बजे संसदीय बोर्डको बैठक बस्नेछ। त्यहाँ दुवै क्षेत्रका आकांक्षीहरूलाई बोलाएर छलफल गर्छौँ। त्यसपछि ३ बजे बस्ने कार्यसम्पादन समितिको बैठकले उम्मेदवार तय गर्नेछ।’
उनले सबै आकांक्षीसँग छलफलपछि जिल्लामा असन्तुष्टि नहुने गरी टिकट दिइने बताएका छन्। यसअघि सभापति देउवाको निवास बूढानीलकण्ठमा मंगलबार ४ घन्टासम्म भएको छलफलमा पनि सहमति जुटेको थिएन। खासगरी इलाम २ लाई लिएर सभापति देउवा र नेता डा शेखर कोइराला पक्षबीच विवाद छ।
इलाम २ का लागि सभापति देउवा डम्बर खड्काको पक्षमा छन्। कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा पूर्वमहामन्त्री डा शशांक कोइराला भेषराज आचार्यको पक्षमा छन्।
दुवै पक्षले खड्का र आचार्यका लागि अडान नछाडेपछि केन्द्रीय कार्यसम्पादन समितिको बुधबार बसेको बैठकमा पनि कुरा नमिलेको हो।