
काठमाडौं — काठमाडौं उपत्यकामा प्रहरी तैनाथी र निगरानी अरु ठाउँभन्दा धेरै छ। तर, यहीँ मोटरसाइकल चोरीको बर्सेनि बढेको सङ्ख्याले भने प्रहरीलाई चुनौती दिइरहेको छ। चालु आर्थिक वर्षको नौ महिनामा काठमाडौं उपत्यकाबाट १ हजार ८ सय ४७ वटा मोटरसाइकल चोरी भएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा १ हजार ८ सय ५० र २०७८/७९ मा १ हजार ६ सय ४ वटा मोटरसाइकल चोरी भएका थिए। उपत्यकामा विभिन्न पेसाव्यवसायमा रहेकाहरूका लागि दैनिकी चलाउन अत्यावश्यक साधन बनेको मोटरसाइकल चोरी बढिरहँदा प्रहरीमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ।
चोरिएका मोटरसाइकल खोजीमा प्रहरीले ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरेको छ। तर, चोरी भएको सङ्ख्यामा आधा पनि फेला परेको तथ्यांक छैन।
मुलुक मै सर्वाधिक सङ्ख्यामा मोटरसाइकल प्रयोगकर्ता उपत्यकामा छन्। संख्या बढेसँगै चोरी पनि बढेको छ। सूचना आएसम्म अनुसन्धान पनि जारी रहेको प्रहरीले जनाएको छ।
काठमाडौं जडिबुटीबाट ओखलढुङ्गाका सन्जोग तोलांगीको मोटरसाइकल चोरी भएको थियो। उनले ट्राफिक प्रहरी कार्यालयमा उजुरी गरे।पेप्सीकोलामा फेला परेको मोटरसाइकल उनलाई प्रहरीले बुझाएको छ। त्यस्तै ललितपुर सातदोबाटोबाट मिनु घोषको मोटरसाइकल पनि चोरी भएको थियो। ललितपुर चापागाउँमा फेला परेको उनको मोटरसाइकल फिर्ता दिइएको प्रहरीले जनाएको छ।
यी त केही उदाहरणमात्र हुन्।
चोरी रोकथाम गर्ने काम काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरिरहेको छ। पछिल्लो समय चैत १३ गते मात्र कार्यालयले फेला परेका २० वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। चालु आर्थिक वर्षको हालसम्म काठमाडौं उपत्यकाबाट चोरी भएका १ हजार ८ सय ४७ वटा मोटरसाइकल मध्ये ३ सय ७४ वटा फेला परेका छन्। फेला परेकामध्ये २ सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ भने २४ वटा आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ। बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा छन्। चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आर्थिक वर्ष २०७९/८० मा चोरी भएका १ हजार ८ सय ५० वटा मोटरसाइकल मध्ये ५ सय ५१ वटा प्रहरीले फेला पारेको थियो। त्यसमा ४ सय ९९ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाएको थियो। सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही गरेको थियो।
त्यसैगरी आर्थिक वर्ष २०७८/७९ मा १ हजार ६ सय ४ वटा मोटरसाइकल चोरी भएका थिए। तीमध्ये ५ सय ६ वटा मोटरसाइकल प्रहरीले फेला पारेर ४ सय ३४ वटा सम्बन्धित सवारीधनीलाई बुझाएको थियो। उक्त अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो।
धेरैजसो साँझ र रातको समयमा मोटरसाइकल चोरी हुने गरेको निवेदन आउने गरेको ट्राफिक प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ भन्छन्, ‘चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको छ। युनिटले तत्कालै परिचालित भई केकस्तो सवारीसाधन कहाँबाट चोरी भयो, विगतमा कस्तो प्रकारको चोरी भएको थियो जानकारी लिई अनुसन्धान सुरु गर्छ। छिमेकी जिल्लासँग समन्वय गर्ने तथा नाकाका युनिटहरूको साथै हरेक नियमित चेकजाँचमा शंकास्पद मोटरसाइकल र मानिसलाई चेकजाँच गर्ने गरिएको छ।’













