News Griha :: न्यूजगृह
प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठन वा मुख्यमन्त्रीले विश्वासको मत लिँदा सत्ता गठबन्धनलाई सहयोग नगर्ने भएको छ ।

बुधबार बसेको पदाधिकारी बैठकले सत्ता गठबन्धनलाई सहयोग नगर्ने निर्णय गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । 

‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो,’ उनले भने, ‘सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय भएको छ।’ 

अध्यक्षले यससम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकताअनुसार सहयोग गर्ने/नगर्नेबारे निर्णय लिने उनको भनाइ छ। 

गण्डकी प्रदेशमा राप्रपा निर्णायक दल रहेको छ। सो प्रदेशमा ठुलो दलको हैसियतमा कांग्रेसले सरकार निर्माणको पहल गर्दैगर्दा राप्रपाले गरेको निर्णयले एमालेमाथि तनाव बढेको छ। यदि राप्रपा यो निर्णयमा कायमै रहेमा एमालेले आफ्नो भागमा परेको गण्डकी प्रदेश सरकार गुमाउने देखिन्छ।

मुख्यमन्त्री सुरेन्द्र पाण्डेले राजीनामा दिएसँगै गण्डकीका प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि बुधवार चैत २७ गतेसम्मको समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरिसकेका छन्।

प्रवक्ता श्रेष्ठले अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए। 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १८:१५
Weather Update