
काठमाडौं — राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष पदको निर्वाचन आगामी चैत २८ गते हुने भएको छ। राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार बसेको बैठकमा चैत २८ गते उपाध्यक्ष पदको निर्वाचन मिति तोकेका हुन्।
निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई उनले निर्देशन दिएका छन्।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले चैत १५ गते राजीनामा दिएकी थिइन्। नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षकी दाबेदार उनी दाहाललाई जिम्मेवारी दिइएसँगै असन्तुष्ट थिइन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्ष भाइ नारायण दाहाललाई बनाएका थिए।
दाहाल गत फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्ष भएका हुन्। त्यसअघि फागुन २० गतेसम्म एमालेबाट गणेशप्रसाद तिमल्सिना राष्ट्रिय सभाको अध्यक्ष थिए।
अर्याल २०७९ माघ २३ गते राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन्।