News Griha :: न्यूजगृह
आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ २१ रनले पराजित

काठमाडौं — आयरल्याण्ड ‘ए’ सँगको तीन खेलको ओडीआई सिरिजको पहिलो खेलमा नेपाल ए टोली २१ रनले पराजित भएको छ। आयरल्याण्डले दिएको १ सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ए २५.३ ओभरमा १ सय ३६ रनमा समेटियो।

नेपालका लागि साहब आलमले बनाएको ३७ रन नै सर्वाधिक रह्यो। देव खनालले २६ र बसिर अहमदले २० रन थपे। रिजन ढकाल १२ रनमा नटआउट रहे।

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। नेपाललाई कम स्कोरमा रोक्न म्याथुले ५ विकेट लिए। लियान म्याककार्तीले ४ विकेट झारे।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्याण्ड ३८.३ ओभरमा १ सय ५७ रन बनाउँदा अल आउट भयो। आयरल्याण्डलाई कम स्कोरमा रोक्न नेपालका लागि कमल ऐरिले ह्याट्रिकसहित चार विकेट लिए। कमलले ३९ औँ ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा लगातार विकेट लिर्दै ह्याट्रिक पूरा गरे। 

कमलले पहिलो बलमा लियाम म्याककार्तिलाई आउट गरे। दोस्रो बलमा क्याथु हकपफ्रेस र तेस्रो बलमा वेन ह्वाइटलाई बोल्ड आउट गरे। 

उनले २९ ओभरको तेस्रो बलमा कप्तान निल रकलाई एलबीडब्लू धरापमा पारे। साहब आलम र मौसम ढकालले समान २ विकेट लिए। रिजन ढकालको नाममा एक् विकेट रह्यो।

आयरल्याण्डका लागि केडे कारमाइकलले बनाएको ५१ रन नै सार्वधिक रह्यो। कप्तान निलले ३९ रन थपे। पेटर मुरले २१ रन बनाए। ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सिरिजको दोस्रो खेल शुक्रबार हुनेछ।

यसअघि आयरल्याण्डसँग नै भएको तीन खेलको टी–२० सिरिज नेपालले २–१ ले गुमाएको थियो।
 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १५:११
Weather Update