
काठमाडौं — प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्या लगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद मनिष झाले तराई–मधेससहित देशका विभिन्न स्थानमा वैवाहिक समारोह संस्कृति भन्दा पनि तडकभडक विकृत संस्कृतिका रुपमा विकास भइरहेको भन्दै सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराए।
उनले फिल्मी शैलीमा हेलिकप्टरमा जन्ती लैजाने गतिविधिले सामाजिक रुपमा आर्थिक दायित्व बढ्नुका साथै गाउँ बस्तीमा हेलिकप्टरको हावाले घरहरूमा क्षति पुर्याउने गरेको बताए।
उनले विवाहका नाममा हल्दी, मेहन्दी जस्ता गतिविधिले दुलहीको माइतीमा आर्थिक दायित्व बढ्ने गरेको, गाउँबस्तीमा हेलिप्याड पनि नहुने भएकाले उडान सुरक्षामा समेत चुनौती थपिएकाले यसप्रकारका गतिविधिलाई तत्काल रोक्न आग्रह गरे।













