
काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभाका शून्य र आकस्मिक समयमा सांसदहरुले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री श्रेष्ठले छानबिन समितिले बुझाएको प्रतिवेदनको आधारमा विश्वविद्यालयका दुई वटा ऐनमा टेकेर कारबाही गर्न सकिने बताइन्।
उनले भनिन्, ‘उत्तरपुस्तिका हराएको सन्दर्भमा एउटा समिति बनेको छ। त्यो समितिले छानबिन गर्दै छ र त्रिविको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिने छ। त्रिविसँगै जोडिएको नर्सिङको विद्यार्थीहरूले तालाबन्दी गर्नु भएको थियो। त्यो विषयमा मन्त्रालयमा नै डाकेर चिकित्सा सेवा आयोग सम्बन्धित डिन, उपकुलपति र नर्सिङ काउन्सिलका अध्यक्षसँग बसेर छलफलपछि तालाबन्दी पनि फुकेको छ।’
त्यस्तै, मन्त्री श्रेष्ठले शिक्षालाई रोजगारीमूलक बनाउनका लागि पनि कार्यदल बनाएर अगाडि बढेको उल्लेख गरिन्। उनले भनिन्, ‘शिक्षा रोजगारी मूलक बनाउनको लागि कार्यदल बनाएर अगाडि बढेका छौँ। शिक्षकहरूको लाइसेन्सको परीक्षा, सेवा आयोगको परीक्षाको प्रश्न पनि अध्ययन गर्न थालेका छौँ। शिक्षकहरू कस्तो खालको आइरहनु भएको छ भनेर पनि विज्ञ टोलीसहित कार्यदल बनेको छ। जसले यसमा परिमार्जन गर्नुपर्ने के के छ, हाम्रो शिक्षक कस्तो छन्। भनेर कार्यदलले काम गरिरहेको छ।’
आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा सीमान्तकृत बस्ती र समूहलाई प्राथमिकतामा राखेर नै विशेष आवासीय विद्यालयको लागि प्रस्ताव गरेका उल्लेख गर्दै उनले त्यस्ता विद्यालय स्थापना गर्न सके गरिब र विपन्न विद्यार्थीहरूको लागि राहत हुने बताइन्।













