News Griha :: न्यूजगृह
बालिकालाई जबर्जस्ती करणी गर्ने सन्दीपलाई १९ वर्ष कैद 

तनहुँ — तनहुँ जिल्ला अदालतले बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा एक अभियुक्तलाई १९ वर्ष कैद फैसला सुनाएको छ।

जिल्ला न्यायाधीश आत्मदेव जोशीको मङ्गलबारको इजलासले सजाय निर्धारणमा अन्तिम आदेश सुनाउँदै अभियुक्त म्याग्दे गाउँपालिका–५ का सन्दीप विकलाई १९ वर्ष कैद फैसलाको निर्णय गरेको हो।

साथै अभियुक्तबाट पीडितलाई एक लाख क्षतिपूर्ति भराउने फैसला भएको जिल्ला अदालतका स्रेस्तेदार केशवप्रसाद पौडेलले जानकारी दिए।

उक्त मुद्दामा तनहुँ जिल्ला अदालतमा आठ पटक पेसी तोकिएको थियो। परिवर्तित नाम २०७९ (१) लाई जबर्जस्ती करणी गरेको अभियोगमा सन्दीपविरुद्ध २०७९ साउन २६ गते जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो।

सन्दीपविरुद्ध बालिकाका आफन्तले २०७९ साउन १ गते इलाका प्रहरी कार्यालय भिमादमा उजुरी दिएका थिए। सन्दीपले २०७९ असार २९ गते पोखराकी उक्त बालिकालाई मोटरसाइकलमा तनहुँको भिमाद बजारमा ल्याई एक गेस्ट हाउसमा राखी बलात्कार गरेको पीडित परिवारले उजुरीमा उल्लेख गरेका थिए।

प्रहरीले सन्दीपलाई साउन १ गते पक्राउ गरेको थियो। प्रहरीले आरोपितविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन २६ गते बलात्कारसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गरेकामा अदालतको आदेशमा साउन २७ गतेदेखि उनी पुर्पक्षका लागि थुनामा थिए।   

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १४:००
Weather Update