News Griha :: न्यूजगृह
बालेनविरुद्ध सामाजिक सञ्जालमा लेख्ने कर्मचारीमाथि चल्यो साइबर मुद्दा

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका महानगरपालिकाकै एक कर्मचारीविरुद्ध मुद्दा चलाइएको छ।

विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा (साइबर) मुद्दा दायर हुनेमा ताप्लेजुङको मौवाखोला गाउँपालिका–१ घर भइ काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत कर्मचारी ५० वर्षीय रामप्रसाद पौडेल छन्।

पौडेलले सामाजिक सञ्जाल फेसबुकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सयौँ कर्मचारी नियुक्त गरेको र एक अर्ब खाएको भन्दै लेखेको आरोप छ। झुटा आरोप लगाएर मेयरको अपमान गरेको भन्दै सस्मित पोखरेलले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए।

सामाजिक सञ्जालमा लेखेको आरोप लागेका पौडेल २१ वर्षदेखि महानगरपालिकको स्वास्थ्य विभागमा काम गर्दै आएका थिए। उनी पुस १६ मा निलम्बनमा परेका थिए।

अनि पौडेलले फेसबुकमा ‘मेयर बालेनले नियुक्ति गरेका १६६ जना र उनीहरूले २ वर्षसम्म खाएको करिब एक अर्ब फिर्ता गर्नुपर्छ, यो नगरवासीले तिरेको कर हो’ लेखेका थिए।

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  १२:५६
Weather Update