News Griha :: न्यूजगृह
कालीबहादुर खामलाई चितवन लगियो

काठमाडौं — ठमेलबाट पक्राउ परेका जनमुक्ति सेना तेस्रो डिभिजन शक्तिखोरका पूर्व डिभिजन कमान्डर ५० वर्षीय कालीबहादुर खाममगरलाई चितवन लगिएको छ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी खामलाई जिल्ला प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले मङ्गलबार पक्राउ गरेको थियो।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।  खाम पूर्वी रुकुमको उत्तरगङ्गा गाउँपालिका–६ का हुन्। 

उनी १५ वर्षदेखि फरार रहेका थिए। कोटेश्वरबाट २०६५ वैशाख १५मा नियन्त्रणमा लिएर व्यापारी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित् माओवादी लडाकुको क्याम्पमा पुर्‍याइएको थियो। श्रेष्ठको घरमा माओवादी लडाकुको तेस्रो डिभिजनको सम्पर्क कार्यालय राखिएकोमा उक्त कार्यालयमा चोरी गरेको आरोपमा श्रेष्ठलाई कब्जामा लिइएको थियो। 

अत्याधिक कुटपिटबाट मृत्यु भएका उनको शव वैशाख २८ बिहान नारायणी नदीमा फ्याँकिएको थियो।  

तत्कालीन माओवादी लडाकुको तेस्रो डिभिजनका ब्रिगेड कमान्डर गोविन्दबहादुर बटाला, कमान्डर कालीबहादुर खाम, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्कीलाई घटनामा संलग्नताको आरोप लगाउँदै कर्तव्य ज्यान मुद्दा चलाइएको थियो।

बटाला भने चितवन अदालतबाट सफाइ पाएपछि रिहा भएका थिए। खामलाई रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिन्छ। उनी अहिले माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। सुरक्षा विभागको नेतृत्वमा भने उपाध्यक्ष कृष्णबहादुर महरा छन्।

 

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:१८
Weather Update