News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी 

काठमाडौं — ताइवानमा ताइवानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरू भत्किएका छन्। तर मानिसहरू कति हताहती भए भन्ने विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ।

सामाजिक सञ्जालहरूमा सेयर गरिएका फोटो र भिडिओहरुमा बिल्डिङहरू भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रबिन्दु भएर ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो।

Taiwan_earthquake_1-1712117073.jpg
त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.२ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो।

Prabhu Bank

स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरू आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ। सुरुको धक्काबाट कमजोर भएका संरचनाहरू अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ। भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो।

ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ। जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो। समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।

फिलिपिन्सको भूकम्प मापन निकायले पनि सुनामीको चेतावनी जारी गरेको छ। बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो। यसअघि सन् १९९९ मा ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो। त्यति बेला दुई हजारभन्दा बढी मानिसको ज्यान गएको थियो।

Taiwan_earthquake_2-1712117073.jpg
भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरू आंशिक रुपमा ध्वस्त भएका छन्। ती भवनहरू कोल्टे परेको देखिन्छ। पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडिओ सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ।

स्थानीय मिडियाहरूले भत्किएका आवासीय भवन र विद्यालयहरूबाट मानिसहरूलाई उद्धार गरिरहेको भिडिओ प्रसारण गरिरहेका छन्। मानिसहरू खुला स्थानमा गएर बसेको पनि देखिन्छ।
ताइवानका मिडियाहरूका अनुसार भूकम्पले बिजुलीका तार र पावर प्लान्टमा क्षति पुगेको छ। त्यसैले ताइवानका ९१ हजार भन्दा बढी घरमा विद्युत आपूर्ति बन्द भएको छ।

ताइवान केन्द्रबिन्दु भएको भूकम्पबाट जापानको ओकिनावा प्रान्तमा पनि क्षति पुगेको छ। त्यहाँका सडकहरू भासिएका छन्। ओकिनावामा आउजाउ गर्ने हवाई उडानहरू स्थगित भएका छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ०९:३९
Weather Update