News Griha :: न्यूजगृह
सुडान द्वन्द्व : २०० को मृत्यु, एकहजार ८०० घाइते

खार्तुम— सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २०० जनाले ज्यान गुमाएका छन् भने एकहजार ८०० घाइते भएका छन् । 

सुडानका सेना प्रमुख अब्देल फताह अल बुरहान र उनका सहायक मोहमद हमदान डगालो नेतृत्वको अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)बीचको जारी द्वन्द्वले देशलाई गभ्भीर अराजकतातर्फ धकेलेको छ । भीषण युद्धका कारण अस्पतालहरू क्षतिग्रस्त भएका छन् भने सहायताका काममा अवरोध उत्पन्न भएको छ । 

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका तो ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि बुहारन र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररूपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । 

सुडानामा नागरिक शासन कसरी पुनःस्थपान गर्ने भन्नेमा उत्पन्न मतभेद नै यो भीषण युद्धको कारण बनेको छ । आरएसएफले देशका सम्भ्रान्त वर्गविरुद्ध सीमान्तकृत समूहको प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ भने आरएसएफका सेनालाई जातीय सफाया गरेको आरोप बुरहान समूहले लगाएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १०:४३
Weather Update