
काठमाडौं — नेपाली कांग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुंगो लगाउन सकेको छैन। आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ क्षेत्र नं १ प्रदेश ‘१’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न मंगलबार बैठक बसेपनि उम्मेदवार चयन गर्न सकेन।
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपनिर्वाचनका लागि पार्टीको संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसे पनि उम्मेदवारको टुंगो लगाउन नसकेको बताए।
‘हिजो उम्मेदवारको विषयमा गहन छलफल भयो, उपनिर्वाचनका लागि पार्टीबाट सिफारिस भएर केन्द्रमा आएका आकाङ्क्षीबीच आज छलफल गरेर उम्मेदवार टुंगो लगाउने कुरा भएको छ,’ उनले भने। उम्मेदवार टुंगो लगाउन बुधबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।
उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारका बारेमा छलफल गर्न सोमबार साँझ पनि कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी एवं शीर्ष नेताहरूको छलफल भएको थियो।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवार मनोनयनपत्र दर्ताको समय तोकेको छ। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पार्टीको उम्मेदवार तय गरिसकेका छन्।