News Griha :: न्यूजगृह
दम्पती हत्या अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा

पर्वत— पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ। स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए।

उनीहरुको हत्या भएको प्रारम्भिक अनुमानपछि प्रदेशवाट विज्ञ टोली बोलाइएको पर्वतका प्रहरी नायब उपरीक्षक खुमलाल भुसालले जानकारी दिए। जिसि दम्पतीको सोमबार राति अपरिचित व्यक्तिले हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ। 

'गण्डकी प्रदेश प्रहरी कार्यालयबाट डाक्टर र कुकुरसहितको विज्ञ टोली घटनास्थलमा आइपुगेको हो,' प्रहरी नायब उपरीक्षक भुसालले भने, 'घटनास्थल प्रहरीको नियन्त्रणमा छ।' घटना रहस्यमय देखिएकाले अनुसन्धान गर्न विशेषज्ञको टोली बोलाइएको उनले बताए। 

मृतक जिसी दम्पतीका दुई छोरा वैदेशिक रोजगारीको क्रममा कोरियामा छन्। एक छोरा म्याग्दीको बेनीबजारमा बस्दै आएका छन्। बेनीबजार पसल गरेर बस्ने जेठो छोरा रवीन जिसीले घरमा बुबा आमालाई फोन गर्दा नउठेपछि छिमेकीलाई बुझ्न लगाएका थिए। छिमेकीले घरको ढोकामा चाँबी लगाएको सुनाएपछि छोरा रबिन बेनीबाट गाउँ पुगेर घरको ढोका खोल्दा बुबा आमा मृत अवस्थामा भेटिएका थिए।

जलजला गाउँपालिका–२ का वडाध्यक्ष प्रकाश जिसीले घरमा जिसी दम्पती मात्र बस्ने गरेको बताए। 'सोमबार बेलुका ८:३० बजेको समयमा सूर्यबहादुरले मलाई फोन गरेर घर नजिकको पाखोमा डढेलो लागेको जानकारी दिनुभएको थियो,' उनले भने, 'पाखोमा लागेको डढेलो निभाउँदै हुनुहुँदो रहेछ, मैले डढेलो निभाउन अरु मानिस चाहिन्छ? भनेर सोध्दा, पर्दैन निभ्न लागेको छ भन्नुभएको थियो।' हरेक दिन बिहान आमासँग कुराकानी हुने भए पनि आज बिहान आमाको फोन नआएपछि आफूले फोन गर्दा नउठेको जेठा छोरा रवीन जिसीले बताए। फोन नउठेपछि म्याग्दीमै बस्ने माइली बुहारीसहित रवीन घर पुग्दा आमाबुवा दुवैजना विभत्स अवस्थामा मृत भेटिएका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  २१:१८
Weather Update