News Griha :: न्यूजगृह
दलहरू जनताबाट अलग भए समाजवादको बेहाल हुन्छ: माधव नेपाल

काठमाडौं— एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादको यात्रामा संविधान बाधक बने सच्याएर अघि बढ्न सक्नुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रियामा उनले जनजिविकाको सवालमा दलहरू गम्भीर भएमात्रै समाजवादको यात्रा सार्थक हुने बताए।

उनले भने, ‘मानव जातिको विकासको अवस्थाको परिकल्पना गर्ने साम्यवादले नै हो। त्यहाँ पुग्नका लागि हामीले समाजवादको बाटोबाट नै जानुपर्छ। यो बाटोबाट जाने सन्दर्भमा अहिलेको संविधान यदि बाधक बन्छ भने त्यो बाधालाई पन्छाउने हो। यथार्थको धरातलमा टेकेर नेपाली समाजको, नेपाली राजनीतिक सापेक्षतामा हामी अगाडि बढ्ने हो, आफ्नो खुट्टामा टेकेर अगाडि बढ्ने हो। कुनै पनि कुरा स्थिर छैन, गतिशील छ । त्यसको गतिलाई बुझेर हामी अगाडि बढ्ने हो।’ 

समाजवाद जनताको हित गर्ने व्यवस्था भएको भन्दै उनले विकल्प अरु कुनै व्यवस्था नभएको पनि भनाइ उनले राखे। सैद्धान्तिक बहस चलाइरहँदा जनजीविकाका सवालमा के के सहजीकरण गर्नुपर्छ भन्ने पनि दलहरूले हेक्का राख्नुपर्ने उनले औंल्याए।

‘जनताबाट अलग भयौँ भने समाजवादको बेहाल हुन्छ। समाजवादी पार्टीहरूको बिजोक हुन्छ। समाजवादका ठूला ठूलो कुरा गरेर मात्रै हुँदैन। हामी जनताको पीडा वेदनासँग जोडिएका छौ कि छैनौँ ? समाजको गरिबी, अभाव र पछौटेपनले हामीलाई पोल्छ कि पोल्दैन ? समाजमा विद्यमान अन्याय, अत्याचार, भेदभावले हामीलाई पिरोल्छ कि पिरोल्दैन ?,’ उनले भने, ‘जनताको बिजोक भइरहेको छ, अनि कम्युनिष्ट पार्टी भने ठूलो भएको छ भन्ने गर्छौ उनीहरु के गरिरहेका छन्। यो पनि पार्टीभित्र छलफल गर्नुपर्ने कुरा हो।’ 

दलहरूको आकार ठूलो भए मात्रै व्यवस्था सफल नहुने जिकिर उनले गरे। उनले एमाले नाम नदिई आकारप्रति कटाक्ष गरेका थिए। समाजवादको सफल कार्यान्वयनका लागि संविधानमा भएका कुनै व्यवस्थाले अवरोध गरेमा त्यसलाई सुधार गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

‘हाम्रो चुनावको प्रणालीमा समस्या छ, कुराहरू उठेका पनि छन्। तर, ती आंशिक पक्षहरू मात्रै हुन्। प्रत्येक उठेका कुराहरू आंशिक मात्रै हुन्,’ उनले भने, ‘समष्टिगत रुपमा कुन कुरा लागू गर्नुपर्छ भन्ने कुरामा गहन छलफलको आवश्यकता छ। समग्रमा अहिले अघि बढ्नको लागि यो संविधान सहयोगी छ। बाधक छैन।’ समाजवादका सवालमा दलहरूबीच छलफल आवश्यक भएको पनि उनले बताए। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १८:०७
Weather Update