News Griha :: न्यूजगृह
एमालेका ४ सांसदले शपथ लिएसँगै बागमतीमा मन्त्रीको संख्या १३, मन्त्रालय १२   

काठमाडौं— बागमती प्रदेशमा नेकपा एमालेबाट नियुक्त भएका चार जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार एमालेबाट मन्त्री बनेका काठमाडौंका केशव पोखरेल र प्रकाश श्रेष्ठ, ललितपुरका रामेश्वर श्रेष्ठ, मकवानपुरका एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराए।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, पोखरेलले वन तथा वातावरण, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिँचाइ र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। प्रकाश बाहेक अरु तीन जना गत वर्षको पुस २५ मा शालिकराम जम्कट्टेल मन्त्रिपरिषद्कै मन्त्री हुन्। 

रामेश्वर यसअघि पनि स्वास्थ्य मन्त्रालय थिए। पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री र एकालाल श्रम, रोजगार तथा यातायात मन्त्री थिए। एमाले दुई महिना सरकारमा बसेर १० चैत ०७९ मा बाहिरिएको थियो। एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलिया यसअघि नै आर्थिक मामिला तथा योजनामन्त्री बनिसकेका छन्।

चारमध्ये केशव र प्रकाश दोस्रो पटक प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् भने रामेश्वर र एकालाल पहिलो पटक प्रदेशसभामा पुगेका हुन्।

नेपाली कांग्रेसले छोडेको ६ वटा मन्त्रालयमा एमालेले ५ वटा मन्त्रालय लिएको छ। संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य चैत १५ मा नियुक्त भएपछि बाँकी मन्त्रालयमा एमालेले दाबी गरेको थियो।

नेकपा एकीकृत समाजवादीबाट मंगलबार बिहान मन्त्री भएकी रमा आलेमगरको भने मन्त्रालय तोकिएको छैन। एकीकृत समाजवादीले कांग्रेसले छाडेकामध्ये एउटा आफूहरूले पाउनुपर्ने माग गरेको थियो।

मन्त्रिपरिषद्मा यसअघि नै एकीकृत समाजवादीबाट श्रम, रोजगार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्री छन्। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १२ वटा मन्त्रालय रहेको बागमतीमा मन्त्रिपरिषद् सदस्य संख्या १३ पुगेको छ। 

११ वटा मात्रै मन्त्रालय कायम गर्ने सत्ता गठबन्धनबीच सहमति भएको थियो। तर मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीबाट मगरलाई विना विभागीय मन्त्री बनाएपछि एमाले असन्तुष्ट बनेको थियो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:५७
Weather Update