
काठमाडौं— लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले प्रदेश सभाबाट बिहीबार (चैत २२ गते) विश्वासको मत लिने भएका छन्।
केन्द्रमा नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री चौधरीले नेकपा माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गरेका थिए। त्यसपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले मुख्यमन्त्री चैत २२ गते अपरान्ह ४ बजे विश्वासको मत लिने जानकारी दिए।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बिहीबार बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चौधरीले विश्वासको मत प्रयोजनका लागि अधिवेशन आह्वान गरेका हुन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
यस्तो छ अंकगणित
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यक पर्छ। माओवादी, नेकपा एमालेसहित दलहरू केन्द्रीय समीकरणअनुसार माओवादीको नेतृत्वमा सरकार गठन गर्ने तयारी गरेका छन्।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका चौधरी भने साना दललाई फकाएर भए पनि सत्ता टिकाउने कसरतमा देखिन्छन्। नयाँ समीकरणअनुसार लुम्बिनीको नेतृत्व माओवादीले गर्ने केन्द्रमा मोटामोटी सहमति भएको छ।
लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नागरिक उन्मुक्ति पार्टीका ४-४, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ३–३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी र स्वतन्त्रका १–१ जना सांसद छन्। राप्रपाका एकजना सांसद भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका छन्।