News Griha :: न्यूजगृह
राजेन्द्र पाण्डेको प्रश्न—प्रधानमन्त्रीले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो?

काठमाडौं— सत्तारूढ नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले शिक्षामन्त्री सुमना श्रेष्ठले भइरहेका निजामती कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थी (इन्टर्न) ल्याउने निर्णय गरेकोमा प्रश्न उठाएका छन्।

प्रतिनिधि सभाको मङ्गलबारको बैठकमा बोल्दै उनले शिक्षा मन्त्रीको मन्त्रीस्तरीय निर्णयबाट ७४ हजार कर्मचारीमाथि कस्तो प्रभाव पर्ला भन्ने प्रश्न पनि गरे।

‘शिक्षा मन्त्रीले भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा भर्ना गर्दै ल्याउनु हुँदा ७४ हजार निजामती कर्मचारीमाथि कस्तो प्रभाव पर्ला, सरकारले सोचेको छ?,’ उनले प्रश्न गरे, ‘के हेर्नु भएको छ देशका प्रधानमन्त्रीले?’

उनले मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट प्रधानमन्त्रीले दिएको हो भन्ने प्रश्न पनि गरेका थिए। ‘जे मनलाग्यो त्यही निर्णय गर्न पाइन्छ? यी सित्तैमै काम गर्न आउने मान्छे हो कि होइनन्?,’ उनले भने, ‘आज शिक्षामन्त्रीले गरेजस्तै भोलि गृहमन्त्रीले मेरो मातहतका पुलिसले सहयोग गरेनन्, छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने? त्यस्तै रक्षा मन्त्रीले अहिलेका सेनाले काम गरेनन् छुट्टै प्रशिक्षार्थी सेना भर्ना गर्छु भन्न पाउने कि नपाउने?’

उनले शिक्षा मन्त्रीले यसबारेमा संसद्मा जवाफ दिनु जरूरी रहेकोले सभामुखबाट रुलिङ हुनुपर्ने पनि बताए।  

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १३:११
Weather Update