News Griha :: न्यूजगृह
श्रममन्त्री डीपी अर्याल पनि सहकारी विवादमा मुछिए, छानबिन गर्न कांग्रेसको माग

काठमाडौं—  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ। 

कांग्रेसले सो समितिलाई सहकारीको रकम ठगीका सम्बन्धमा विभिन्न विषय अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने अख्तियारी दिनुपर्ने समेत माग गरेको छ। प्रतिनिधि सभाको आजको बैठकको सुरुमै सो पार्टी सबै सांसदहरू आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेसका सांसद रामकृष्ण यादवलाई समय दिए। 

सांसद यादवले सरकार पुनर्गठनसँगै लामिछानेमाथिको छानबिन रोकिएर विश्वासको सङ्कट उत्पन्न भएकाले संसदीय छानबिन हुनुपर्ने आवश्यकता औँल्याए। उनले लामिछाने सञ्चारकर्मीका रुपमा आवद्ध हुँदाका बखत गोर्खा मिडिया प्रालिमा हुँदा सहकारीबाट ८० करोड ऋण लिएको र नतिरिएको विषयमा नैतिकताका आधारमा गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने माग गरे। 

सांसद यादवले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल पनि सहकारी विवादमा मुछिएकाले छानबिन हुनुपर्ने माग गरे। उनले गृहमन्त्री र सहकारी जोडिएको विषय बाहेक सदन चल्न आफ्नो पार्टीले अवरोध नगर्ने पनि स्पष्ट पारे ।

उनले सदनमा सांसदले उठाएका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आग्रह गर्दै दण्डहीनताको अन्त्य, कानुनी राज्यको पालना र सुशासन कायम गरेर आम नागरिकप्रति आशा सिर्जना गर्न आग्रह गरे।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १२:०२
Weather Update