
काठमाडौं— सत्ता गठबन्धन दलहरूबीच प्रदेश बाँडफाँटमा सहमति जुटेको छ।
सोमबार काठमाडौंमा बसेको एमाले–माओवादीसहित सत्ता गठबन्धनको बैठकले लुम्बिनी माओवादीले र कर्णाली प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको हो। माओवादीले नेतृत्व गर्दै आएको कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले लिने सहमति भएपछि कर्णालीमा माओवादीभित्रै विवाद सुरु भएको छ।
सत्तारुढ गठबन्धनको केन्द्रीय सहमति अनुसार पहिलो चरणमा कर्णालीको नेतृत्व एमालेलाई दिने सहमति भएको र त्यसको सर्कुलर आइसकेको नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लले बताए।
केन्द्रबाट सर्कुलर आएपनि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार दिउँसो ३ बजे प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार बेलुका कर्णाली सरकारको नेतृत्व एमालेलाई छोडेर आवश्यक सहयोग गर्न मुख्यमन्त्री शर्मालाई निर्देशन दिएका थिए।
तर मुख्यमन्त्री शर्माले ‘केन्द्रको निर्णय ढिला आएको र संवैधानिक प्रक्रिया अनुसार अगाडि बढिसकेकाले निर्णय कार्यान्वयन गर्न नसकिने’ जवाफ दिँदै निर्देशन विपरीत विश्वासको मत लिन लागेका हुन्।
माओवादी उपमहासचिव जनार्दन शर्माले कर्णालीमा माओवादीकै मुख्यमन्त्रीको निरन्तरता हुनुपर्ने भन्दै पार्टी अध्यक्ष प्रचण्डलाई दबाब दिइरहेका थिए। यो सहमति अनुसार एमालेले मुख्यमन्त्री पाए एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेल मुख्यमन्त्री बन्नेछन्।
४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा माओवादीका १३, एमालेका १० र एकीकृत समाजवादीका १ सांसद रहेका छन्। त्यस्तै कांग्रेसका १५ र राप्रपाका १ सांसद छन्।