News Griha :: न्यूजगृह
केन्द्रीय सदस्यलाई कुटपिट गर्ने नाउपाका २ प्रदेश अध्यक्ष बर्खास्त
अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले गण्डकी र बागमती प्रदेश अध्यक्षलाई पार्टीबाट निष्कासन गरेकी छन्। 

संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला नेताहरूलाई हातपात गरेको भन्दै अध्यक्ष श्रेष्ठले बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङलाई जिम्मेवारीबाट पदमुक्त गरेको बताएकी छन्।

‘नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालय, अनामनगर, काठमाडौंमा चैत १९ गतेका दिन पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा तपाईंसमेतले पार्टीका संस्थापक केन्द्रीय सदस्यहरू रामलाल डगौरा थारू र रमेश विश्वकर्मालाई अभद्र व्यवहार गरी कुटपिटसमेत गरेको हुँदा पार्टीको विधान बमोजिम र आजकै मितिदेखि लागू हुनेगरि पार्टीबाट पदमुक्त गरी निष्कासन गरिएको जानकारी गराउँछु,’ पत्रमा भनिएको छ।

दुवै अध्यक्षलाई एकै व्यहोरोको पत्रमार्फत निष्कासन गरिएको जानकारी गराइएको छ। संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेका बेला पार्टी अध्यक्ष श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबीच कुटाकुट भएको थियो।

केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूसहित चारजना नेताविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १०:३६
Weather Update