News Griha :: न्यूजगृह
तातोपानी नाका सञ्चालन गराउन नेपाल र चिनियाँ सुरक्षा प्रतिनिधिबीच छलफल

सिन्धुपाल्चोक— तातोपानी नाका खुलाउन र सीमा सुरक्षाका विषयमा नेपाल–चीनतर्फको सम्बन्धित सुरक्षा निकायबीच द्विपक्षीय बैठक भएको छ ।

नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामकुमार यादवले बैठकले १८ वैशाखबाट तातोपानी नाका नियमित सञ्चालन गर्ने र सीमा सुरक्षा तथा कोरोना संक्रमण एवम् सुरक्षाको विषयलाई प्राथामिकता दिएको बताए ।

दुवै देशबीच कोरोना संक्रमणको सावधानी अपनाउने तथा सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ बलियो बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकतानुसार संयुक्त तालिम, गस्ती गर्ने, थप चेक प्वाइन्ट राख्ने व्यवस्था मिलाउने, सीमा सुरक्षासम्बन्धी सम्पूर्ण सूचना तत्कालै आदान–प्रदान गर्ने, विगतमा भएजस्तै आगामी दिनमा समेतआपसी सुरक्षासम्बन्धी काम कारबाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रही सुरक्षा व्यवस्थालाई बलियो बनाउनेलगायत बैठकमा छलफल भएको जनाइएको छ ।

लामो समयदेखि नाका नियमित हुन सकेको छैन ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०९:१४
Weather Update