News Griha :: न्यूजगृह
आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित

काठमाडौं— जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सानदान जित हासिल गरेको छ। राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई इन्डियन्स ६ विकेटले पराजित भयो। 

राजस्थानका बलरसामू टिक्न नसक्दा मुम्बईले तेस्रो खेलमा पनि खाता खोल्न सकेन। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर खेल्दा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो।

Imageमुम्बईलाई कमजोर सावित गर्न राजस्थानका ट्रेन्ड बोल्ड र युजवेन्द्र चहाले तीन तीन विकेट लिए। ट्रेन्ड बोल्डले रोहित शर्मा, नमन धीर र डेवाल्स ब्रेविसको विकेट लिएका थिए। उनीहरू खाता खोल्न नपाउँदै शून्यमै आउट भए। नान्द्रे बर्गरले २ विकेट लिँदा आवेश खानको नाममा १ विकेट रह्यो।

मुम्बईका लागि कप्तान हार्दिक पाण्डेले सर्वाधिक ३४ रन बनाए। २१ बल खेलेका उनले ६ चौका प्रहार गरे। तिलक बर्मा ३२, टिम डेविड १७ र इशान किशानले १६ रन बनाउँदा जसप्रीत बुमराह ८ र आकाश मधवाल ४ रनमा अविजत रहे।

Image१२६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि रियान परागले नटआउट ५४ रनको अर्धशतकीय पारी खेले। अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन नगरे पनि मुम्बईले दिएको सामान्य लक्ष्य राजस्थानले सहजै भेटेको हो।

उसका लागि रविचन्द्रन आश्विन १६, जोस बटलर १३, कप्तान सञ्जु सैमसन १२, यशस्वी जैसवाल १० रनमा आउट हुँदा शुभम दुबे ८ रनमा नटआउट रहे।

मुम्बईका लागि आकाश माधवालले ३ र क्वेना माफाका १ विकेट हात पारे। यो खेलसँगै तीन खेलमा तीन जित निकाल्दै राजस्थान ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। मुम्बई भने तीन खेलमा अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ।

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०६:१५
Weather Update