News Griha :: न्यूजगृह
रेशम चौधरीको गुनासो- पार्टीको टेन्सनले तीन महिनादेखि खाना खाएको छैन 

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भए पनि आफूले कुनै धम्की नदिएको प्रष्ट पारेका छन्।

केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक चौधरीले कुट्ने र हत्या गर्नेसम्मको धम्की दिएको आरोप लगाएपछि पत्रकार सम्मेलन गर्दै त्यसको प्रष्टिकरण दिएका हुन्।

उनले भने, 'उहाँले भ्रामक कुरा बोल्नुभयो। बैठकमा पार्टीका अरू साथीहरू पनि थिए। उहाँसँग पत्रकार सम्मेलनमा बस्ने साथीहरू पनि बैठकमा थिए। नभएको कुरा गर्न हुँदैन भनेर मैले स्टाटस पनि लेखेको छु। केन्द्रीय समितिको बैठकमा सरकारमा जाने नजाने भन्ने विषयमा वादविवाद भएको हो। महाधिवेशनबाट निर्वाचित साथीहरूले आफ्नो हैसियत खोज्नुभएको हो।' 

उनले नेता विश्वकर्मासहित नेताहरूले नै धम्की दिएर गएकाले आफूहरू चाहिँ असुरक्षित रहेको बताए।

यस्तो छ रेशमको भनाई 

मलाई थाहा छ यो बिरुवा कुन जातको हो। स्याउको हो कि, ओखरको हो कि, आँपको हो कि। मैले तीन महिनादेखि खाना खाएको छैन (भावुक बन्छन्)। कहिले दुई चम्चा खान्छु, कहिले के कहिले के। आत्महत्या गर्ने परिस्थितिसम्म पुगाइसके। केही पनि मान्दै मान्दैनन्। केन्द्रीय समितिको निर्णय नमान्ने भन्छन्। पार्टी कसले चलाइरहेको छ ? पदीय लोलोपता धेरै भयो  अब २३ र २४ गतेको बैठकले कारबाही गर्छ। सम्झौता भयो भने पार्टी मिलाउने हो, नत्र छानिछानी कारबाही गर्ने जसले गल्ती गर्‍यो उ कारबाहीमा पर्‍यो।

बाहिरबाट हस्तक्षेप भएर यो भइरहेको छ। अहिलेको सरकारले हाम्रो पार्टी चलाइरहेको भएर यस्तो भइरहेको छ। पार्टी अर्काको इशारामा किन चल्ने ? केन्द्रीय समितिबाट निर्णय गरेर जाऊँ भनेको हो। २३ र २४ गतेसम्म यथास्थितिमा चल्छ। त्यसपछि केन्द्रीय समितिले गरेको निर्णय स्वीकार गर्छौँ।

म सबैसँग क्षमा माग्न चाहन्छु। आफैँले रोपेको बिरुवालाई अर्को मान्छेले आएर काटेको टुलुटुलु हेर्न सकिने अवस्था छैन। सबै पिडा बुझ्नुभएको छ। म जतिको पीडित को होला ? हे भगवान् पीडा भन्ने तैंले मेरो भाग्यमा मात्रै लेखिस् है। जिन्दगीभरि संघर्ष गरेँ। काठमाडौं आउँदा भृकुटीमण्डपमा भारी बोकेँ। पिउनको जागिर खाएँ। रेडियो नेपाल टेलिभिजन हुँदै संघर्ष गर्दै आफ्नो गाउँ पुगेँ। गाउँबाट जेल पुगेँ। जेलमा साढे ८ वर्ष बसेँ। यस्तै तरिका हो भने... भन्ने दिन पनि आउला  अब के गर्ने पीडा छ।

घरकै मान्छेले नमानेपछि झन् बढी पीडा हुन्छ। पार्टीका मान्छेले लोग्ने–स्वास्नी मिल्या छौ भन्छन्। म अनुरोध गर्छु, उहाँबाट स्वीकार हुँदैन। म बेवकुफ बन्छु। के गर्नु, बेवकुफ बनिरहने मेरो भाग्यमा लेखेको छ। पार्टी मिल्ला भनेर चुपचाप बस्ने हो। 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  २०:०८
Weather Update