News Griha :: न्यूजगृह
निर्वाचनको विषयले चन्द समूहमा समस्या

काठमाडौं— नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निर्वाचनमा पार्टीको प्रयोग हुन खोजेपछि समस्या भएको बताएका छन्। अन्य दलहरूभन्दा फरक मान्यता राख्ने पार्टी भएकाले निर्वाचनको विषयले मतमतान्तर रहेको उनले बताए।

काठमाडौंमा सोमबार शहीद परिवार सम्मान कार्यक्रममा बोल्दै आफूहरूले स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको उनले स्वीकार गरे।

उनले भने ‘हामीले खासगरी स्थानीय चुनावलाई प्रयोग गर्न खोजेपछि पार्टीमा केही समस्या आएको कुरा साँचो हो। म देशैभर हाम्रा नेता कार्यकर्ता भेट्छु। अरूको र हाम्रोबीचमा धेरै फरक छ। हाम्रो नेता कार्यकर्तामा आत्मविश्वास छ। लडिन्छ र गरिन्छ भन्ने छ। देशलाई आपत् पर्दाको दिन जुरुक्क उठेर काँध थाप्ने शक्ति नेकपासँग छ।’

जनताको न्यायका लागि विद्रोह गर्ने अधिकार नेकपासँग रहेको भन्दै उनले जनताको असली प्रतिनिधि गर्ने हिसाबले दृष्टिकोण पनि रहेको पनि दाबी गरे। महासचिव चन्दले पार्टीको आदेशमा पुरानै तरिकाले राजनीतिक नचल्ने भन्दै देशका सबै कम्युनिष्टहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए। 

उनले भने, ‘हामी सक्छौँ भन्ने पूरा आत्मविश्वास छ। हामीले के भनेका छौं भने हामीसँग अधिकार छ जनताको न्यायको लागि विद्रोह गर्ने। अधिकार जहिले पनि हुन्छ नि। जनताको असली प्रतिनिधि हामी हौं भन्ने हिसाबले हामीसँग दृष्टिकोण पनि छ।’
 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १८:३०
Weather Update