News Griha :: न्यूजगृह
आयरल्याण्ड ए विरुद्ध टस हारेको नेपाल ब्याटिङमा

काठमाडौं— टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल सुरु भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेको नेपालले ब्याटिङ गरिरहेको छ। नेपालका देव खनाल र लोकेश बम ओपनरका रुपमा मैदान उत्रिएका छन्। 

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपाल आजको खेल जित्दै क्लीनस्वीप हुनबाट बच्ने रणनीतिका साथ मैदान उत्रिएको छ। 

घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतकीय पारीसँगै खेले पनि नेपाल २१ रनले पराजित भयो। त्यस्तै शनिबार भएको दोस्रो खेलमा पनि नेपालले ४० रनले पराजित भोग्यो।

एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिज पनि खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गतेदेखि सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ। 

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेल नेपालले जितेको थियो।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १३:०८
Weather Update