काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेसमा कडाइकासाथ एसईई परीक्षा सञ्चालन नहुँदा मधेस प्रदेश बदनाम भैरहेको उल्लेख गर्दै परीक्षालाई मर्यादित बनाउनुपर्नेमा जोड दिएका छन्।
प्रतिनिधि सभाको आजको बैठकमा २ मिनेट समय माग गरी बोलेका उनले केन्द्रबाट खटाइने प्रहरी प्रशासनका प्रमुखहरु, निरीक्षक र सबै अधिकारीहरुका कमजोरीका कारण परीक्षामा चिट चोर्ने लगायतका अनपेक्षित घटनाहरु बाहिर आएको भएपनि त्यसको मूल्य सिङगो मधेसले चुकाउन परेको बताए।
उनले भने,‘अहिले मधेस आफैं एसईई परीक्षा हुँदा चीट चोर्नेहरुको चपेटामा पर्दैछ। यसको दोष मधेसले किन खेप्दैछ ? काठमाडौंमा सुनिन्छ ड्राइभिङ लाइसेन्स छैन भने मधेस झरौं न पाइहाल्छ भन्ने छ। एसईई पास भएन भने त्यहाँ जाउ भइहाल्छ भन्ने छ। यहीबाट खटाइएको सीडीओ, एसपी निरीक्षक सबै अधिकारीहरुले छुट दिइरहेको छन् । तर त्यसको मूल्य मधेसले तिरिराखेको छ। यसको दोष हामी मधेसी होइन्, केन्द्रबाट खटाइने सबै अधिकारीहरु हुन्।’
उनले मधेसमा हुँदै गरेको परीक्षालाई गम्भीरतापूर्वक लिई आवश्यक विधि, पद्दति र कडाइकासाथ परीक्षा गराउन माग गरे ।













