News Griha :: न्यूजगृह
सहकारी पीडितलाई न्याय दिन छानबिन समिति गठन गर्नैपर्छ— सांसद गौतम

काठमाडौं— नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी पीडितका समस्या हल गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन्। 

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद प्रतिमा गौतमलाई बोल्ने समय दिएका थिए। 

उनले बिहानै आफ्नो घरमा सहकारी पीडित आएर गुनासो गरेको दृष्टान्त सुनाइन्। ‘म कहाँ आज एक जना बहिनी आउनुभयो। उहाँले म बर्बाद भएँ। भन्दै गुनासो सुनाउनुभयो। म बिहान मेरा छोराछोरीलाई पनि समय नदिइ बिहानै र बेलुका अबेर ठेलामा, सडकमा पसल गर्दै बचाएको पैसा सहकारीमा राखेको थिएँ। अहिले चाहिएको बेला सहकारीले दिन सक्दैन भन्छ। म बर्बाद भएँ। लौन दिदी केही गरिदिनुपर्यो’, सहकारी पीडितको यो प्रतिनिधि उदाहरण भएको भन्दै सांसद गौतमले निम्न आय भएका आम नेपालीको समस्या रहेको बताइन।

उनले निम्न आय भएका व्यक्ति ठगिँदा हामी बोल्न सकेनौँ भने हाम्रो भूमिका के भन्दै प्रश्न गरिन्। 

सूर्यदर्शन सहकारीको बचत ठगीको विषयबाट सहकारी ठगीको विषय उठ्ठान भएको भन्दै उनले यो विषयमा छानबिन हुनुपर्ने माग गरिन्। 

गृहमन्त्री आफैँ सहकारी ठगीको आरोपी रहेको भन्दै उनले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने बताइन्। सहकारी ठगीको आरोप लागेका व्यक्ति नै गृहमन्त्री बन्दा अनुसन्धान प्रभावित हुने उनले बताइन्। 

उनले भनिन्, ‘हामीले पटक पटक यही सदनबाट संसदीय समिति गठनका लागि माग गर्दै आएका छौँ। त्यो माग सम्बोधन गर्न फेरि पनि सभामुखमार्फत सरकारसँग माग गर्छु।’

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:३२
Weather Update