काठमाडौं— संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन।
अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन्।
दुर्घटनाग्रस्त जहाज बाल्टिमोरको बन्दरगाहमा अड्किएको छ। अझैं त्यहाँको भग्नावशेष हटाउन कति समय लाग्ने त्यसको एकिन छैन।
जहाज व्यवस्थापन गर्ने कम्पनी सिनर्जी मरिनका लागि काम गर्ने क्रिस जेम्सका अनुसार चालक दलका सदस्यहरूसँग पर्याप्त मात्रामा खाना र पानीको आपूर्ति भएकाले उनीहरुलाई कुनै समस्या छैन। राष्ट्रिय यातायात सुरक्षा बोर्ड र कोस्ट गार्डले आफ्नो अनुसन्धान पूरा गरेपछि चालक दलका सदस्यहरुलाई घर पठाउन सकिने जानकारी दिएको छ।
९८५ फिट लामो कार्गो जहाज श्रीलंका जाँदै गरेको थियो। उक्त जहाजमा ४ हजार ७ सय कन्टेनर छन्। गत मंगलबार बिहानै विद्युत आपूर्ति अवरुद्ध भएपछि जहाज पुलमा ठोक्किएको थियो। जसका कारण पुलको ठूलो भाग भत्किएको छ। त्यहाँ निर्माणमा काम गर्ने ६ जनाको उक्त दुर्घटनामा मृत्यु भएको थियो।
शनिबारदेखि इन्जिनियरहरूको टोलीले क्षतिग्रस्त पुलबाट झुकेको फलामको पहिलो खण्ड काट्ने र यसको भग्नावशेष हटाउने जटिल प्रक्रिया सुरु गरेको छ। अमेरिकी अधिकारीहरूले पुलको भत्किएको संरचनाको उत्तरी भागमा काम भइरहेको बताएका छन्। फलाम काट्न भारी कटर मेसिन प्रयोग भइरहेको छ।
पुलको भग्नावशेष हटाउन एक हजार टन तौल उठाउन सक्ने ठूलो क्रेन परिचालन गरिएको छ। मेरिल्याण्डका गभर्नर वेस मूरले भग्नावशेष हटाउन र बन्दरगाह पुनः खोल्न कति समय लाग्ने भन्ने अझै थाहा नभएको बताएका छन्।