
काठमाडौं— टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल आज हुँदैछ। खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएपनि यो सिरिजको उपाधि एक खेल अघि नै आयरल्याण्डले जितिसकेको छ। आजको खेल भने औपचारिकतामै सीमित हुनेछ।
घरेलु मैदानमा पहिलो खेलमा शुक्रबार लोकेश बमले शतकीय पारीसँगै खेले पनि नेपाल २१ रनले पराजित भयो। त्यस्तै शनिबार भएको दोस्रो खेलमा पनि नेपालले ४० रनले पराजित भोग्यो।
एक खेल अगावै टी–२० सिरिज जितेको आयरल्याण्डसँग नेपालले एक दिवसीय सिरिज पनि खेल्दैछ। नेपाल र आयरल्याण्ड ‘ए’को एक दिवसीय सिरिज चैत २१ गतेदेखि सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर क्रिकेट मैदानमा हुनेछ।
आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेल नेपालले जितेको थियो।