News Griha :: न्यूजगृह
प्रतिनिधि सभा आज पनि, कांग्रेसको विरोध जारी

काठमाडौं— संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। 

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत्तीय व्यापार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच नेपाली कांग्रेसले संसद्‌मा राखेको विरोध जारी छ। यसअघिका बैठकमा लगातार बैठक सुरु हुनासाथ उठेर विरोध जनाएको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप छानबिन गर्न माग गर्दै आएको छ। 

यसअघि प्रधानमन्त्रीले संसद्‌मा दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै कांग्रेसले सहकारी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। अनुसन्धानको गर्नुपर्ने विषयमा गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने माग कांग्रेसको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ०७:१८
Weather Update