News Griha :: न्यूजगृह
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी

काठमाडौं— बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ। 

विद्युत् ‘सर्ट’ भएर अस्पतालको सीटी स्क्यान कक्षमा आगलागी भएको हो। 

आइतबार अपरान्ह साढे चार बजे सीटी स्क्यान रुमबाट आगो सल्किएको थियो। करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

अल्ट्रासाउण्ड, एक्स रे, लिन्याक मेसिन, सिटी स्क्यान लगायतका उपकरण राखिएको रेडियोलोजी विभागका कोठाहरूमा धुँवा भरिएकाले आगलागी नियन्त्रण गर्न धेरै समय लागेको डाँगीले बताए।

आगलागीबाट अल्ट्रासाउण्ड, एक्स रे, सिटी स्क्यान लगायतका उपकरणमा क्षति पुगेको छ। के कति मात्रामा क्षति भएको छ भन्ने यकिन भने प्राविधिक टिमले अध्ययन गरेपछि मात्रै थाहा हुने अस्पतालका कार्यकारी निर्देशक प्रकाशप्रसाद साहले बताए। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:५१
Weather Update