News Griha :: न्यूजगृह
पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति, किसान चिन्तित 

मलेखु— धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ।

उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरमै सखाप भएपछि किसान चिन्तित भएका हुन्।

शनिबार दिउँसो परेको असिना पानीले गहुँ, मकै, जौ, सागलगायत हिउँदेबाली नष्ट गरेको गङ्गाजमुना गाउँपालिका–१ रिगाउँस्थित किचेतका दिनेश तामाङले बताए। उनका अनुसार गङ्गाजमुना, खनियाँबास र रुबीभ्याली गाउँपालिकाका अधिकांश किसानले लगाएको बाली असिना पानीले नष्ट गरेको छ। हिउँदे खडेरीमा दुःखले हुर्काउँदै गरेको आलु, मकै गहुँ, जौ लगायतका बाली असिनाले चुटेर नष्ट भएपछि अब दोहोर्याएर अर्को बाली लगाउनुपर्ने अवस्था आएको रिगाउँका शिक्षक पूर्णबहादुर तामाङले बताए।

‘हुर्कदै गरेको गहुँ, गोड्ने बेला भएको मकै र आलु असिना पानीले नष्ट गरेको छ,’ उनले भने, ‘बारीका डिलमा भएको रूख घाँसको समेत सिठ्ठा मात्रै बाँकी छ।’ 

फागुनको पहिलो सातादेखि लगाएको मकै, पुस महिनामा लगाएको आलु सबै कामै नलाग्ने गरी बिग्रिएको तामाङको भनाइ छ। मकै र आलु खेतीबाट जीविकोपार्जन गर्दै आएका यस यस क्षेत्रका किसानको खुसी असिना पानीले नष्ट पारिदिएको गङ्गाजमुना–१ ताजिमग्राङका इमान तामाङले बताए।

कृषि पेसामा निर्भर हुँदै आएकाहरूको खुसी पलभरमै निराशामा बदलिएको उनको भनाइ छ। हिउँदमा कडा परिश्रम गरेर लगाएको खेती पाक्ने समयमा यसरी असिना पानीले सखाप पारेपछि यहाँका किसानलाई बर्खामा के खाने भन्ने चिन्ता परेको छ।

खनियाँबास को झार्लाङ, रुबीभ्याली को तिप्लिङ र गङ्गाजमुनाको रिगाउँ आसपासको आलु र मकै देशभर प्रख्यात मानिन्छ।    

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:१०
Weather Update