सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे घोटाला
पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति

काठमाडौं— गैरकानूनी सम्पत्ति आर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।
नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो।
माघ ११ गते विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। त्यसपछि फागुन २ गते पुनः उनीहरूमाथि १० दिन म्याद थप भएको थियो।
अहिले पछिल्लोपटक पौडेलद्वयलाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा अनियमितता र सुनिलमाथि पेमेन्ट गेट वे अनियमिततामा मुद्दा चलेको छ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १५:००













