-1710497760.jpg)
काठमाडौं— प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले हिमाली जिल्लामा नुन नपाएकोदेखि विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएकोलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आगलागीका घटना, कृषि उत्पादनलगायतका विषय उठान गरे।
सांसद विद्या भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए।
विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो। सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुनः परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो। उनले यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
सांसद बिना लामाले हिमाली जिल्ला मुगुका नागरिकले नुन नपाएको गुनासो आइरहेको र उनीहरु घण्टौँ हिँडेर सदरमुकाम पुग्दा पनि नुन नपाउने समस्या झेलिरहेको भन्दै मुगुमा तत्काल नुनको प्रबन्ध गर्न सरकार समक्ष माग गरिन्।
‘नागरिक सबैको भान्सामा नभई नहुने खाद्यपदार्थ नुन हो तर, कैयौँ हिमाली जिल्लाका नागरिकका लागि नुन सुनभन्दा पनि महङ्गो भइरहेको छ,’ सांसद लामाले भनिन्।
सांसद बिजुला रायमाझीले अर्घाखाँचीको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको सुपा देउराली मन्दिरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन माग गरिन्।
सांसद शान्ति बिकले विभिन्न भ्रष्टाचार र ठगीमा संलग्न दोषीलाई कारबाही गरी अपराध नियन्त्रण गर्न कडा दण्ड सजायको व्यवस्था गर्न माग गरिन्।
सांसद शिव नेपालीले काभ्रेका अजित मिजारले उपल्लो जातसँग प्रेम विवाह गरेकै कारण मारिएको भन्दै उनका परिवारले न्याय नपाएसम्म अन्त्येष्टि नगर्ने भनी पर्खिरहेकाले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरे।