News Griha :: न्यूजगृह
‘भारतीय ट्रक नेपालमा निर्वाध गुड्न पाउने, नेपाली किन छिर्न नपाउने ?’

काठमाडौं— सांसद रघुजी पन्तले नेपालमा निर्वाध रूपले भित्रने भारतीय मालबाहक सवारी साधनलाई रोक्न सरकारले कदम चाल्नुपर्ने माग गरेका छन्। 

नेपालीले मात्र लगानी गरेको सबैभन्दा ठूलो उद्योग नै यातायात उद्योग रहेको भन्दै यसलाई तहसनहस बनाउने प्रपञ्च भइरहेको आरोप लगाए। 

सरकारले बेलैमा नसोचे नेपाली व्यवसायी मात्र होइन्। सवारी साधनमा काम गर्ने धेरै नेपालीको रोजगारी पनि गुम्ने उनको भनाइ छ। 

उनले भने, ‘यति बेला नेपालीमात्रले लगानी गरेको, धेरै नेपालीलाई रोजगारी दिएको यातायात उद्योग अभिभावकविहीन भएको अवस्था छ। यसलाई रोक्नुपर्छ। नेपाली ट्रक भारतीय क्षेत्रमा प्रवेशमा रोकिन्छ भने ठिक छ। हामीले पनि भारतीय ट्रकलाई सीमा क्षेत्रमा रोकेर त्यहाँबाट आउने ढुवानी नेपाली ट्रकबाट गर्ने व्यवस्था मिलाउनुपर्छ।’

सांसद पन्तले नेपालमा मालबाहक ट्रक बिक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन्। नेपालमा २० हजार ट्रक रहेको बताउँदै उनले पछिल्लो समय ट्रक खरिद–बिक्री कम भएको बताए।
 
उनले भने, ‘नेपालमा गाडीहरुमध्ये ट्रक बिक्री हुन छाडेको छ। जुन मात्रामा पहिले ट्रक बिक्री हुन्थ्यो अहिले त्यस्तो छैन । नेपालमा लगभग २० हजार ट्रक  छन् । यसरी २० हजार ट्रकले काम पाउन छाड्दा कन्डक्टर र ड्राइभर गरि ४० हजार जनाको रोजगारी खतरामा छ।’

सांसद पन्तले भारतबाट मापदण्डभन्दा ठूला र गह्रुँगा ट्रकहरुको आयातले सडकको बजेट समेत बढाएको उल्लेख गरे। 

अमेरिकामा चिनियाँ सामानको उपस्थिति बढ्यो भन्ने अध्ययनको निष्कर्षपछि अमेरिकाले चिनियाँ सामानमा ६० प्रतिशतसम्म कर लगाउने गरेको दृष्टान्त पेस गरेदै पन्तले नेपालले पनि आफ्नो लागि आफैँ काम गर्नुपर्ने बताए।

उनले भने, ‘अमेरिकामा चिनियाँ सामानको उपस्थिति बढेपछि अहिले अमेरिकाले चिनियाँ सामानका ६० प्रतिशतसम्म कर लगाउँदै आएको छ। त्यसको काउण्टरमा चीनले पनि करको दर बढाएको छ। अनि नेपालमा चाहिँ भारतले जे गरे पनि हेरेर बस्ने भन्ने हुन्छ? के नेपाल अभिभावक नभएको देश हो? सरकार नभएको देश हो ? होइन् । यो अहिलेको सरकारमात्र होइन विगतदेखिनै समस्याका रुपमा आएको छ। त्यसैले अहिलेको सरकारले समस्या समाधानका लागि अविलम्ब ध्यान दिनुपर्छ।’

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:५९
Weather Update