News Griha :: न्यूजगृह
संसद्‌मा प्रश्न— जीबी राई खोई, कहिले पक्राउ पर्छन् ?

काठमाडौं— जारी प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसकी सांसद सीता मिजारले जीबी राई खोई भन्दै प्रश्न गरेकी छन्। 

बैठकमा आफ्नो धारणा राख्नेक्रममा उनले भनिन्, ‘गृहमन्त्रीले तत्काल जीबी राईलाई पक्राउ गर्छु भन्नुभएको थियो। जीबी राई खोई, कहिले पक्राउ गर्नुहुन्छ? कहिले कारबाहीको दायरामा ल्याउनुहुन्छ?’

उनले गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपको पनि जवाफ चाहिने बताइन्। उनले सरकारी निकायले दिएको स्पष्टीकरणले पुग्ने हो कि भन्दै प्रश्न गरिन्। उनले भनिन्, ‘गृहमन्त्री माथि लागेको आरोप सरकारी निकायले दिएको स्पष्टीकरणले पुग्ने हो ? छानबिनको दायरमा आउनुपर्दैन ?’

सहकारी पीडितसँग गरेको सम्झौता अनुसार काम नभएको भन्दै उनले सरकारलाई खबरदारी गरेकी छन्। उनले भनिन्, ‘गृहमन्त्रीले सहकारीबाट ठगिएका ३५ हजार पीडितलाई न्याय दिलाउने आश्वासनको ललिपप खुवाएर पठाउनुभएको थियो। तर समस्या समाधानका लागि अहिलेसम्म सिन्को भाँच्ने काम भएको छैन। कहिले हुन्छ?’ 

सांसद मिजारले नयाँ गठबन्धनले पुराना गठबन्धनले सुरु गरेका राम्रा कामको निरन्तरता दिने अपेक्षा गरिए पनि अहिले सम्म त्यसको कुनै संकेत नमिलेको बताइन्।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:२७
Weather Update