
काठमाडौं— प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ नेपाली कांग्रेसका सांसदले उठेर विरोध जनाएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद सञ्जयकुमार गौतमलाई संक्षिप्त कुरा राख्न समय दिए।
सदनमा आफ्नो धारणा राख्दै गौतमले सदनको गरिमा बुझेको भए पनि किन आफ्नो आवाजलाई सरकारले नसुनेको भन्दै प्रश्न गरे।
उनले सहकारी ठगीको विषय हिजो पनि उठेको बताउँदै उनले वर्तमान सरकारमा रहेकाले किन नैतिकता देखाएनन् भन्दै प्रश्न गरे।
उनले हिजोभन्दा परिस्थिति फेरिएको भएपनि तत्कालीन अवस्थामा सरकारले छानबिन भइरहेको छ भन्दा आफूहरु पर्खेर बसेको बताए।
गौतमले भने, ‘तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले हामीले अनुसन्धान गरिरहेका छौँ भन्नुभएको थियो। हामी विश्वस्त थियौँ। अहिले परिस्थिति फेरिएको छ। अहिले सत्ता पक्षमा भएका साथीहरूले पनि आवाज उठाउनुभएको थियो। त्यसमा पनि प्रधानमन्त्रीले न्यायाधीशजस्तो भएर जुन जवाफ दिनुभयो। त्यो हामीलाई मान्य छैन।’
उनले यो विषयमा सरकार गम्भीर बन्न माग गर्दै छानबिनका लागि संसदीय समिति गठनको माग गरे। आफ्नो आवाजलाई बेवास्ता गरे सदन अवरोध गर्ने चेतावनी पनि दिए।