News Griha :: न्यूजगृह
संवैधानिक परिषद्‌को बैठक आज, संसद्‌को गतिरोध अन्त्य गर्ने प्रयास

काठमाडौं—  संवैधानिक परिषदको बैठक आजलाई बोलाइएको छ। परिषद्‌का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ९ बजेलाई परिषद्‌को बैठक आह्वान गरेका छन्। 

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ।

संसदको गतिरोध अन्त्यका विषयमा छलफल हुने बताइएको छ। यसअघि पनि प्रधानमन्त्री दाहालले संसद्को गतिरोध अन्त्य र संवैधानिक आयोगको नियुक्तिमा भागबन्डा मिलाउने विषयमा छलफल अघि बढाएका थिए। 

शनिबारमात्र पनि प्रधानमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। संसद्, टीआरसी र संवैधानिक आयोगमा सहमति जुटाउने प्रयासमा रहेका प्रधानमन्त्रीले सोही विषयमा छलफल गर्न परिषद्‌को बैठक आह्वान गरेको बताइएको छ। 

प्रधानमन्त्रीले बिहीबार देउवासँग परामर्श गरेपछि परिषद्को बैठक आह्वान गरेका थिए। आजको बैठकमा रिक्त रहेका संवैधानिक निकायमा पदाधिकारी नियुक्ति गर्ने विषयमा पनि छलफल हुनेछ। 

महालेखा परीक्षकसहित निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोगमा एक/एक सदस्य रिक्त छन्। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ०७:२७
Weather Update