सुनसरी— सुनसरीको झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ।
४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए।
खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो।
कारागारभित्रै कुटेर हत्या गरेको राईका आफन्तले आरोप लगाएका छन्। कारागारमा भाइको हत्या भएको दाबी गर्दै घटनाको छानबिन गर्नुपर्ने मृत्तक न्यायधीशका दाइ सुभाष राईले माग गरेका छन्।
न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतककी भाउजु उर्मिला राईले दाबी गरिन्।
कैदीबन्दी राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले बताए। स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरेको र उपचारका क्रममा उनको मृत्यु भएको उनको भनाइ छ।
जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताइन।
पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएको छ। शव इनरुवा अस्पतालमा राखिएको छ।