
काठमाडौं— नेकपा एमाले बागमती प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शनिबार आर्थिक मामिला मन्त्रीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई नियुक्त गरेका छन्।
थपलियाले शनिबार साँझ नै प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। थपलिया यसअघि २०७९ पुस २६ मा जम्कट्टेल मन्त्रिपरिषद्मा आर्थिक मामिला मन्त्री थिए।
केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले छाडेर कांग्रेससँग सहकार्य गरेपछि बागमतीमा पनि एमालेका मन्त्रीहरुले साढे दुई महिनामै राजीनामा दिएका थिए।
मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरणमा फेरबदल आएपछि दोस्रो पटक सरकार विस्तार गरेका हुन्। यसअघि चैत १५ मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका थिए।
अब भने चैत १९ मा विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।