News Griha :: न्यूजगृह
पशुपति शमशेरको भविष्यवाणी: ‘वर्तमान गठबन्धनको आयु चारमहिना’
फाइल तस्बिर।

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर राणाले वर्तमान सत्ता गठबन्धनको आयु त्यति लामो नदेखेको बताएका छन्।

शनिबार महाराजगञ्जमा पत्रकारहरूसँग अनौपचारिक संवाद गर्दा नेता राणाले वर्तमान प्रतिनिधि सभाले पूर्ण कार्यकाल काम गर्नेमा आफू विश्वस्त रहेको बताउँदै तर एमाले र माओवादी सहितको सत्ता गठबन्धन भने धेरै लामो समय चल्नेमा आफूलाई विश्वास नलागेको बताए। ठट्यौली शैलीमा हाँस्दै राणाले भने, ‘बढीमा चार महिना!’  

नेता राणाले वर्तमान प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतले केही दिन सभामुखको भूमिका निर्वाह गरेका थिए। 
आफ्नो निवासमा दिवाभोजका लागि आमन्त्रित पत्रकारहरूसँग मिसिएर राणाले भने, ‘हेर्नोस् ८२ वर्ष बाँचिएछ, अब यो समयावधिका बारेमा के गर्ने भनेर सोच्दै जाँदा एउटा अनुभवको पुस्तक नै लेख्न रहर लाग्यो र पचहत्तर प्रतिशत त लेखी नै सकेँ, एकतिहाइ भने पूरा गर्न बाँकी छ।’ 

नेता राणाले आफ्ना बाजे अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले संक्रमणकालको नेतृत्व गरेर प्रजातन्त्रलाई सहयोग गरेको प्रसङ्ग सुनाउँदै पिता विजय शमशेरले पनि उद्योगधन्दाको जग बसाउन महत्वपूर्ण योगदान गरेको चर्चा गरे।

उनले आफूले पनि महत्वपूर्ण समयमा उल्लेख्य भूमिका निर्वाह गर्न पछि नपरेको सगर्व सुनाउँदै पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो प्रशंसा गरेको पनि सम्झिए। 

नेता राणाले पहिला नेपाली भाषामै आफ्नो संस्मरण कृति सार्वजनिक गर्ने योजना सुनाए।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १६:२७
Weather Update