News Griha :: न्यूजगृह
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद रायमाझी अस्पतालबाट डिस्चार्ज

काठमाडौं— प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्।

नेकपा एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मनमोहन कार्डियोथोरेसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए।

'उहाँ (रायमाझी)को स्वास्थ्यस्थितिको ४८ घण्टा अबजर्भर गर्दा सामान्य देखियो,' उनले भने, 'मुटुको चाल पनि विस्तारै सामान्य भयो, त्यसैले हिजो राति डिस्चार्ज गरिएको हो।'

मुटुको चाल कम भएपछि नेता रायमाझीलाई गत बुधबार अस्पताल भर्ना गरिएको थियो।

उनी हाल पुर्पक्षका लागि केन्द्रीय कारागारमा छन्।   

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:२३
Weather Update